सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका २ भक्तिपुर मियाँखोरमा मंगलबार बिहानै पोखरीमा कार खस्दा दुई जना हराइरहेका छन् । मियाँखोरको सडक किनारमा रहेको सरस्वती माध्यमिक विद्यालय नजिकको पोखरीमा लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भएर खसेको हो ।
कार खस्दा महोत्तरीको गौशाला नगरपालिका २ निवासी ३७ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका ८ निवासी ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् । कारमा सवार अर्को व्यक्ति, गौशाला नगरपालिका २ निवासी ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हराइरहेका दुई जनाको खोजी कार्यमा जुटेको छ । इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले घटनास्थलबाट यस बारे जानकारी दिए । महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट गोताखोरको टोली पनि हालै घटनास्थलमा आइपुगेको छ ।
ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्कीले रातको २ देखि ३ बजेको बीचमा यो दुर्घटना भएको हुन सक्ने आशंका गरेका छन् । दुर्घटनाबाट बचेका जनक यादवले स्थानीयलाई खबर गरेपछि बिहान ४ बजे प्रहरी घटनास्थलमा पुगेको थियो ।




