महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ५ टुटेश्वर जंगलमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ना ४ त ६८२३ नम्बरको ट्याक्टर महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गर्दा शुक्रबार राति ना ८ ख ३१६ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट सर्लाही ईश्वरपुर १२ घारिबथान निवासी ३७ वर्षीय सन्तोष मगरातीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
घटनामा महोत्तरी बर्दिबास ७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर १२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएका छन् ।
उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटना बारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।




