सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित अमुवा खोला पुलनजिक आज बिहान तीन वटा सवारी साधन ठोक्किँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार जनकपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ८६३१ नम्बरको यात्रुबसलाई सोही दिशाबाट आइरहेको ना ६ ख १८७७ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्करका कारण अनियन्त्रित बनेको उक्त बसले सडक किनारमा रोकिराखेको लु १ ख ८६७० नम्बरको ट्रकलाई समेत ठक्कर दिएको हो । दुर्घटना पश्चात तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा ना ७ ख ८६३१ नम्बरको बसका मालिक महोत्तरी गाउँपालिका ३ का ४० वर्षीय सिधु कुमार मिश्र, ना ६ ख १८७७ नम्बरको बसमा सवार जलेश्वर नगरपालिका ४ की ४८ वर्षीया रेणु देवी कर्ण र उनका छोरा २० वर्षीय विधान्शु कर्ण रहेका छन् ।
घाइतेमध्ये आमा छोराको उपचार वीरगञ्जको न्यूरो अस्पतालमा भइरहेको छ भने मिश्रको उपचार जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीन वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपि, ठक्कर दिने बसका चालक भने फरार भएका छन्, र खोजी कार्य जारी छ ।




