रौतहट । रौतहटको सदरमुकाम गौर स्थित एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौंको मोबाइल चोरी गर्ने दुई जना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
चोरीको मोबाइलसहित पक्राउ पर्नेहरुमा स्थानिय राजदेवी नगरपालिका ९ ब्रहमापुरिका सोनालाल मण्डलको छोरा वर्ष १९ का शिवजी मण्डल र सोही ठाउँका १८ वर्षीय निरज मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपक कुमार रायले बताएका छन् ।
उनीहरू माथी बिहिबार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी रायले जानकारी दिए ।
गत बुधबार राती उनीहरूले गौर स्थित चौधरी मार्केट भित्र नेशनल मोबाइल पसलको ताल्चा फुटाएर १५ थान मोबाइल चोरेर लागेका थिए । लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाइल पसलको ताल्चा फुटाएर ४ वटा मोबाइल चोरी गरेको थियो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीय मिलेर दुबै जनालाई चोरी गर्दा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेका छन् ।




