सिरहा । सिरहामा तस्करको स्कोरपीयोले किचेर एक सशस्त्र प्रहरी सईको मृत्यु भएको छ । भारतीय सीमा नजीकै बडीयारपट्टी १ कचनारी भित्री सडक खण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षिय लक्ष्मण प्रसाद यादवलाई आइतबार विहान तस्करको स्कोरपीयोले किचर मृत्यु भएको हो ।
नेपालबाट भारत तर्फ गईरहेको तस्करको स्कोरपीयो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न लागेका थिए । ठक्करबाट यादवको मृत्यु नभएपछि उनलाई स्कोरपीओ ब्याक गरेर पुनः किचेको प्रहरीको भनाई छ ।
सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । उनले अहिलेसम्म ती स्कोरपीयोले मदिरा बोकेको भन्ने सूचना आएपनि स्कोरपीयो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।
विओपी वडहरीमा कार्यरत सशस्त्रका सय यादवको नेतृत्वमा ५ जना र प्रहरी चौकी कचनारीबाट खटिएको असई वीरेन्द्र कुमार साह नेतृत्वको ५ जनाको संयुक्त मोटरसाइकल गस्ति टोलीले विच घटना हुँदा पनि स्कोरपीयो भाग्न सफल हुनुले घटनालाई थप ससंकीत बनेको एक प्रहरी अधिकृत बताउँछन् ।
उनले भने, ‘यो सामान्य घटना होइन । १० जना हतियारसहितको टोलिमा एक जना प्रहरीको मृत्यु भएको छ । यसले प्रहरी आफै शंकाको घेरामा परेको छ ।’ ती प्रहरी अधिकृतले भने, ‘जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरुकै मिलेमत्तोमा यस क्षेत्रबाट निर्वाधरुपमा मदिरा भारत तर्फ तस्करी भइरहेको थियो । त्यो पछिल्ला दिनहरुमा पक्राउ परेका घटनाले पनि देखायो । यो घटनाले भने मदिरा मात्र नभई अन्य सामाग्री पनि तस्करी भएको हुन सक्ने देखाउँछ ।’
उनले थपे, ‘घटना दशगजादेखि ४ सय मिटरको दुरीमा नेपाल तर्फ भएको हो । मदिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैन । भारतमा मात्र उनीहरुलाई डर हो । यो गाडीमा सुपाडी, सुकमेल, प्रतिबन्धित लागूऔषध गाँजा वा त्यस्तै कुनै बहुमुल्य सामाग्री हुनुपर्छ ।’
यता परिवारजनले घटनाको उचित छानविन गर्नुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानमा चक्का जामसहित प्रदर्शन गरिरहेको छ । उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई निलम्बनगरी घटनाको छानविन गर्नुपर्ने माग गर्दै आएको छ । यादवको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ ।




