सिरहा । सिरहामा मदिरा तस्करद्वारा गाडीले किचेर मारिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान भएको उक्त घटनामा प्रहरीले अनुसन्धानका क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, उनीहरूको सोधपुछ जारी छ ।
प्रहरीले यस घटनामा संलग्न गाडी र व्यक्तिहरूको पहिचान लगभग पूरा गरेको जानकारी दिएको छ । पण्डितले भने, ‘हामीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं, र गाडी र संलग्न व्यक्तिहरुको पहिचान पनि लगभग भइसकेको छ ।’
नायब निरीक्षक यादव नेपाल–भारत सीमा क्षेत्रमा स्थित बडहरी बेस क्याम्पमा कार्यरत थिए । आइतबार बिहान ३ बजे, बरियारपट्टी गाउँपालिका १ स्थित कचनारीमा मदिरा तस्करीका लागि आएका स्कोरपियोले उनलाई ठक्कर मारी हत्या गरेको थियो ।
यादवले मदिरा तस्करलाई रोक्न खोज्दा तस्करले गाडीले किचेर उनीलाई घाइते बनाएका थिए र घटनास्थलबाट फरार भएका थिए । यादवको शव लहानस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरी आइतबार साँझ अन्त्येष्टि गरिएको थियो ।




