रौतहट । श्रीआधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापकले नगरपालिका कार्यालयको लेटरप्याड र नगरप्रमुखको दस्तखत किर्ते गरी भवन निर्माणको रकम निकालेको आरोपमा पक्राउ परेका छन् ।
चन्द्रपुर नगरपालिकामा रहेको उक्त विद्यालयको चार कोठे भवन निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रधानाध्यापक किशोरी चौधरीलाई सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीले नगरपालिका कार्यालयको छाप, चलानी नम्बर र हस्ताक्षर किर्ते गरेर उक्त रकम निकालेका थिए । उनले यो रकम विद्यालयको भवन निर्माणका लागि प्रयोग गर्ने भनिए पनि निजी प्रयोजनमा खर्च गरेको पाइएको छ ।
यसअघि, नगरपालिका प्रशासनले प्रधानाध्यापक चौधरीविरुद्ध अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो, र अदालतबाट पक्राउ आदेश जारी भएपछि उनी फरार थिए ।
नगरपालिकाले ५० लाख रुपैयाँको विशेष अनुदान प्राप्त गरेको थियो, जसमा २० लाख रुपैयाँ प्रधानाध्यापकले निकालेर निजी प्रयोजनमा खर्च गरेको आरोप छ ।
निर्माण कार्यको रकम दुई पटक भुक्तानी गर्दा मूल्य अभिवृद्धि करको ३ लाख ३८ हजार ४ सय ७३ रुपैयाँ पनि नतिरेको पाइएको छ । प्रहरी अनुसन्धान जारी रहेको र थप कारबाहीका लागि चौधरीलाई म्याद थपेर अनुसन्धान गरिने बताइएको छ ।




