सिरहा । धनगढीमाई नगरपालिकाले औषधि खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नगरपालिकाले मिलेमतो गरी औषधि खरिद नगरी नक्कली बिल बनाएर रकम निकासा गरेको पाइएको छ ।
प्रतिवादीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टी प्रपोज प्रालिका प्रबन्धक माधवप्रसाद गौतम रहेका छन् । विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा पाँचै प्रतिवादीलाई ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो, जरिवाना र कैद सजायको माग गरिएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकमको दुरुपयोग गरी १७ प्रकारका औषधि खरिदमा स्थानीय बजार मूल्यभन्दा बढी रकम तोकेको पाइएको छ ।
अख्तियारले यस प्रकरणलाई गम्भीर आर्थिक अनियमितताको रूपमा लिँदै कानूनी कारबाही अघि बढाएको जनाएको छ ।




