धनुषा । धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो । शीरछेदन गरिएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो ।
उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको पाइएको छ । हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजगारमा छन् । मृतकका कान्छो छोराका अनुसार मंगलबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् ।
अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाअनुसार अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।




