सप्तरी । मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्षमा निर्वाचित धिरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । साहलाई जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
०७८ चैत २२ गते डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा एक महिलामाथि जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा साहसहित अन्य प्रतिवादीहरुविरुद्ध अनुसन्धान अघि बढाइएको थियो । यस्तै, ०८० जेठ १० गते अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमा जाहेरी दर्ता भएको थियो ।
उक्त जाहेरीमा आधारित रहेर उच्च अदालत जनकपुरको अस्थायी इजलास राजविराजले ०८० चैत ४ गते परमादेश जारी गरेको थियो । सो परमादेश ०८१ साउन ६ गते इलाका प्रहरी कार्यालय कल्याणपुरले प्राप्त गरेको थियो । साउन १४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि १५ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।
फरार रहेका साहलाई बिहिबार मधुवनी टोलबाट इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले अपराह्न साढे चार बजे पक्राउ गरेको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए । पक्राउ परेका साहलाई हाल इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
बिदाका कारण शुक्रबार अदालतमा उपस्थित गराउन नसकिएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । साह जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार भई मंसिर १६ गते भएको उपनिर्वाचनमा ६५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।




