बारा । बारा जिल्लामा अवैध लागूऔषध गाँजासहित दुई फरक स्थानबाट चार जना पक्राउ परेका छन् । प्रहरीले निजगढ नगरपालिका ४ बकैया खोलाको बाँध कच्ची सडकबाट ६ किलो ७६० ग्राम गाँजासहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रौतहट फतुवा बिजयपुर नगरपालिका ४ का २५ वर्षीय राम प्रवेश महतो र सोही नगरपालिका ९ का २१ वर्षीय राजेश महतो रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले प्र ०२–०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो । उनीहरू बागदेवबाट पुरानो निजगढतर्फ जाँदै थिए ।
यसैगरी, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ बाट १५ किलो गाँजासहित थप दुई जना मंगलबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी ग्राम पंचायत राजमुरा १४ चाग्डी गाउँका २६ वर्षीय अखिलेख कुमार साह र १९ वर्षीय राज कुमार पासवान रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले बिए २२ जे ५३३३ नम्बरको कारलाई जाँच गर्दा कारको पछाडिको सिटमा फल्स बटम बनाई लुकाएर राखिएको उक्त गाँजा फेला पारेको थियो ।
सोही क्रममा चालक अखिलेख कुमार साह र कारमा सवार राज कुमार पासवानलाई पक्राउ गरिएको हो । प्रहरीले दुबै घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।




