धनुषा । मिथिला नगरपालिका ३ हरिहरपुर मुसहरीटोलमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार ४८ वर्षीया रेशमी देवी मुखिया बिनको शव बुधबार राति आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो ।
मंगलबारदेखि हराइरहेकी रेशमी देवीलाई खोजी गर्ने क्रममा स्थानीयले शव फेला पारेका हुन् । घटनास्थलमा पुगेको प्रहरीले प्रकृति मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ ।
रेशमी देवीको हत्या उनकै श्रीमान दशैया मुखियाले गरेको आशंका गरिएको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको र हत्या सम्बन्धी सत्यतथ्य पत्ता लगाउन प्रहरी क्रियाशील रहेको बताइएको छ ।




