वीरगंज । नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले विद्युत् चुहावटको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । विद्युत् चुहावट नियन्त्रण टोलीले इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको सहयोगमा बुधबार राति पर्साका विभिन्न पालिकामा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
टोलीका इन्चार्ज सद्दाम हुसेनको नेतृत्वमा भएको अपरेसनमा छिपहरमाई गाउँपालिका १ भलुवहियाका धर्मेन्द्रप्रसाद यादव, वडा नं ३ जयमङ्गलापुरका विजय गिरी, वडा नं ५ भिस्वाका जीतेन्द्र साह, पोखरिया नगरपालिका २ डम्बरवानाका बुधन माझी, वडा नं २ लमरियाका सन्दीपकुमार राम र पकाहामैनपुर गाउँपालिका ४ लहावरथकरीका राजेश यादव पक्राउ परेका छन् ।
पक्राउ परेकालाई कारबाईका लागि इलाका प्रहरी कार्यालय, पोखरियामा राखिएको छ । जरिवाना असुल गरी कानूनी प्रक्रिया पूरा गरेपछि छोडिने इन्चार्ज हुसेनले जानकारी दिएका छन् । विद्युत् चुहावट नियन्त्रण अभियानलाई सशक्त बनाउने उद्देश्यले निरन्तर निगरानी भइरहेको प्राधिकरणले जनाएको छ ।




