सर्लाही । सर्लाही जिल्लामा ट्राफिक व्यवस्थापनका समस्या दिन प्रतिदिन गहिरिँदै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको लापरबाहीका कारण मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेको छ । विशेष गरी लालबन्दी, नवलपुर, बागमती र बरहथवाका मुख्य चोक तथा सडकमा मनपरी पार्किङ र ट्राफिक व्यवस्थापनको अभावले दुर्घटनाको जोखिम थप बढाएको छ ।
लालबन्दीका स्थानीय राम महतोका अनुसार मुख्य बजारमा दोहोरो पार्किङका कारण सडक अवरुद्ध हुने र सवारी दुर्घटनाको जोखिम बढ्ने समस्या दीर्घकालीन बनेको छ । स्थानीय व्यापारीले पनि सडकको दुर्व्यवस्थापन र ट्राफिक प्रहरीको उदासीनता प्रति गुनासो गरेका छन् ।
पूर्व-पश्चिम राजमार्गका शहरी क्षेत्रहरूमा अत्यधिक सवारी साधन चापको बाबजुद ट्राफिक व्यवस्थापनको सुधारमा कुनै ठोस पहल नभएको स्थानीय मदन महतो बताउँछन् । उनले भने, “चोकहरूमा ट्राफिक प्रहरी भएपनि उनीहरूले सवारी साधनको अनियमित पार्किङलाई बेवास्ता गरेका छन् ।”
सडकमा खुलेआम पार्किङका कारण आवागमन अवरुद्ध हुनुका साथै सवारी चालकलाई पनि समस्या हुने गरेको छ । सवारी चालक राम हरि दाहालले लालबन्दी, नवलपुर र बरहथवाका चोकहरूमा अव्यवस्थित पार्किङले गम्भीर समस्या निम्त्याएको गुनासो गरे ।
दुर्घटनाको डरलाग्दो तथ्यांक
सर्लाहीमा आर्थिक वर्ष २०७९/८० मा ९०२ र २०८०/८१ मा ६१५ सवारी दुर्घटना भएका थिए । यी दुर्घटनामा २०७९/८० मा ६७ जनाको मृत्यु भएको थियो भने २०८०/८१ मा मृत्यु संख्या ६२ थियो । चालू आर्थिक वर्ष २०८१/८२ को मंसिर मसान्तसम्ममा ३६७ दुर्घटना भएका छन् जसमा २१ जनाले ज्यान गुमाएका छन् र ६१० जना घाइते भएका छन् । ट्राफिक व्यवस्थापनका लागि ११ युनिट अन्तर्गत कार्यरत जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस आर्थिक वर्षमा ९५ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरे पनि समस्या समाधानतर्फ ध्यान दिएको देखिँदैन ।
स्थानीयको अपेक्षा र प्रहरीको दाबी
स्थानीयले नयाँ ट्राफिक प्रहरी प्रमुखबाट ट्राफिक व्यवस्थापनमा सुधारको अपेक्षा गरेका थिए । तर, प्रमुख रजोश घिमीरेले सर्लाहीमा आएपछि अवस्था झनै बिग्रिएको स्थानीयको आरोप छ । ट्राफिक व्यवस्थापनमा चासो नदेखाएको भन्दै प्रमुख घिमीरेमाथि कमिसनप्रतिको लोभसमेत रहेको आशंका गरिएको छ । तर, प्रमुख घिमीरेले भने, “मैले यहाँको ट्राफिक व्यवस्थापन सुधार गर्न निरन्तर काम गरिरहेको छु । चाँडै सुधार देखिनेछ ।”
सुधारको आवश्यकता
सर्लाहीका मुख्य बजार तथा चोकहरूको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन तत्काल कदम चाल्नु आवश्यक छ । नियमित अनुगमन, पार्किङ व्यवस्थापन र ट्राफिक प्रहरीको सक्रियता बढाइए मात्रै सर्लाहीको ट्राफिक व्यवस्थापनमा सुधार हुन सक्छ । स्थानीय बासिन्दा र सवारी चालकले प्रभावकारी कदमको माग गर्दै जिल्ला प्रशासनलाई सक्रिय बन्न आग्रह गरेका छन् ।




