सर्लाही । ईश्वरपुर नगरपालिका ७ बयलबास बबरगंजस्थित सडकमा शनिबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक, ईश्वरपुर नगरपालिका १० निवासी ५० वर्षीय राजेश चौधरीको ज्यान गएको हो ।
बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा चौधरी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि सिद्धिबिनायक अस्पताल बयलबास लगिएको थियो । थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल चालकको सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ । दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै, यस्ता घटनाहरू रोक्न सडक सुरक्षाका मापदण्ड पालन गर्न आग्रह गरिएको छ ।




