सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजना अन्तर्गतको मूर्तिया वृक्षारोपण शाखामा व्यापक अनियमितता र भ्रष्टाचार भएको पाइएको छ । वन संरक्षण र विकासका लागि ४५ वर्षअघि स्थापना गरिएको परियोजनाले पछिल्लो समय तस्करी र मनपरीका कारण गम्भीर संकटको सामना गरिरहेको छ ।
तस्करीमा सेटिङ
स्थानियका अनुसार तस्करहरूले मूर्तिया वृक्षारोपण शाखाका कर्मचारीहरूसँग मिलेमतो गरी वन क्षेत्रबाट अवैध रूपमा रूख कटान र काठ ओसारपसार गरिरहेका छन् । शाखाका निमित्त प्रमुख रेन्जर चन्द्र मोहन सिंह तस्करीलाई साथ दिँदै आर्थिक लाभ लिएको आरोप स्थानियले लगाएका छन् ।
रेन्जर सिंहले केही महिनाअघि गस्ती टोलीले समातेका तस्करहरूलाई ६५/६६ हजार रुपैयाँ लिई बिना कारबाही छुटाइदिएको प्रमाण भेटिएको छ । सो रकम कुनै आधिकारिक दाखिलामा नराखिएको र व्यक्तिगत लाभका लागि प्रयोग गरिएको स्थानीयले बताएका छन् ।
अनियमित फर्निचर र चिरान
शाखाका लागि चाहिने फर्निचर बनाउन र वन क्षेत्रको घेरा लगाउन भनेर प्रयोग गरिएको काठमा पनि अनियमितता देखिएको छ । रेन्जर सिंहले सोल्टी गार्ड क्वार्टरमा ढलेका रूखहरूको काठ चिरान गरेको बताएका छन् । तर, पत्राचारमा कुनै आधिकारिकता नभएको र सागनाथ वन विकास परियोजनाका निमित्त प्रमुखलाई समेत जानकारी नगराएको आरोप छ ।
दैनिक ज्यालादारी कर्मचारीको बजेट पनि दुरुपयोग
ज्यालादारी कर्मचारीहरूको खाजा बजेटमा पनि अनियमितता भएको पाइएको छ । कर्मचारीहरूले कम गुणस्तरको खाजा उपलब्ध गराई रकम दुरुपयोग गरिएको बताएका छन् ।
परियोजना मौन
रेन्जर सिंहको व्यवहार र घरमा लामो समयसम्म बस्ने प्रवृत्ति प्रति परियोजनाले कुनै कारबाही नगरेको स्थानीय र कर्मचारीहरूको गुनासो छ । करारका कर्मचारी भएपनि उनको मनपरीलाई रोक्न परियोजना असफल भएको देखिन्छ ।
रेन्जर सिंहको प्रतिक्रिया
रेन्जर सिंहले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै भने, ‘मैले शाखाको हितका लागि मात्र काम गरिरहेको छु । लगाइएको आरोप झूठा हुन् ।’
सागरनाथ वन विकास परियोजनाले यो विषयमा थप अनुसन्धान गरी उचित कदम चाल्नु आवश्यक रहेको देखिन्छ । अन्यथा, वन संरक्षण र विकासका लागि सुरु गरिएको यो परियोजना भ्रष्टाचार र तस्करीको शिकार मात्र हुनेछ ।





