सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका ७ का ३५ वर्षीय महेन्दर साह र छिन्नमस्ता गाउँपालिका ३ का ४० वर्षीय रविन्द्र कुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, साहले आफ्नै घरमा स्रोत नखुलेको रकम अवैध रूपमा बैंक तथा वित्तीय कारोबार गरिरहेको सूचनाका आधारमा पुस ४ गते साहको घरमा तलासी गरिएको थियो । तलासीका क्रममा १४ लाख ७ सय रुपैयाँ बरामद भएको थियो ।
प्रहरी प्रवक्ता, नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार, रकमको स्रोत स्पष्ट नभएपछि साहलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा यादवको पनि संलग्नता पुष्टि भएपछि उनलाई पनि पक्राउ गरिएको छ ।
दुबै जना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अन्तर्गत मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




