महोत्तरी । महोत्तरीको बर्दिबासस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घटना बर्दिबासको गौतम होटल नजिकै बिहीबार दिउँसो साढे २ बजेतिर भएको हो ।
दुर्घटनामा धनुषा गणेशनाथ चारधाम नगरपालिका वडा नम्बर ६ गोदारका ३९ वर्षीय राकेशलाल कर्ण र महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ का अन्दाजी १६ वर्षीय राहुल सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बर्दिबासबाट लालबन्दीतर्फ जाँदै गरेको ज १२ प ७३१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बागमती प्र ०२-५४ प ६९८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेमध्ये १६ वर्षीय राहुल सिंहको अवस्था गम्भीर रहेको र उनलाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । कर्णको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि दुवै मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यस घटनाले ट्राफिक नियम पालनाको महत्त्व पुनः उजागर गरेको स्थानीयले बताएका छन् ।




