धनुषा । सरकारी छाप र दरखास्त कीर्ते गरेर रकम हिनामिना गरेको आरोपमा ४ महिना अगाडि पक्राउ पूर्जी जारी भएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठाकुरको नाममा जारी गरिएको पक्राउ पूर्जी चार महिना पछि, भैसेपाटी फुलवारी मार्गमा झगडा र लफडामा परेर प्रहरी समक्ष पुगेपछि फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले यसको बारेमा छलफल गरि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
ठाकुरमाथि किर्ते गर्ने र उपभोक्ता समितिलाई मिलोमतो गरेर रकम अपचलनमा मुछिने आरोप रहेको छ । परिषद्का कार्यकारी निर्देशकका रूपमा रहेका ठाकुरले भक्तजनले दिएको दानको स्कारपिओ समेत आफ्नो श्रीमती इन्दुलेखा शर्माको नाममा गराएको भेटिएको थियो ।
यस्तै, गाडी मर्मत र सम्भारका नाममा २५ लाख रुपैयाँ निकालेर झ्वाम पारिएको खुलेको छ । ठाकुरले कर्मचारीहरूसँग मिलेर उपभोक्ता समितिको भुक्तानी गर्दा प्राविधिक मूल्याङ्कनभन्दा बढी रकम निकासा गरेको र आफ्ना निकटजनलाई समितिको जिम्मा दिएको आरोप पनि छ ।
उक्त घटनामा परिषद्ले अख्तियारलाई जानकारी गराएको भएतापनि अख्तियारले कानूनी कदम चालेको थिएन । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ र ठाकुरको सम्बन्धमा थप कारवाहीको तयारी भइरहेको छ ।




