जनकपुरधाम । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरमा परेको रिट पुन: हेर्न नभ्याइने सूचीमा परेको छ । जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्मासहित चार जनाको मुद्दाको यो १४ औं पेशी हो ।
बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा लोकत्रान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको मुद्दा पेश भएपनि फेरि हेर्न नभ्याइनेमा परेको हो ।
गत वैशाख ९ गते शर्माको तर्फबाट उनका बुवा महेन्द्र शर्मा, मिश्रको तर्फबाट उनकी श्रीमती संगीता कुमारी शर्मा, पाण्डेको तर्फबाट उनकी छोरी प्रियंका पाण्डे र रायको तर्फबाट उनका दाइ अरविन्द कुमार रायले पुनरावेदन दर्ता गराएका थिए ।




