रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामानसहित ६६ जना तस्करलाई पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले बिगतको तुलनामा राजस्व संकलन देखि आपराधिक क्रियाकलाप लगायत चौतर्फी सुधार आएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहिबार सार्वजनिक गरेको ६ महिने प्रगती विवरणमा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा चौतर्फी प्रगति देखिएको छ ।
गत साउनदेखि पुस मसान्तसम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको विभिन्न प्रकारको सामान बरामद गरी भन्सारमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई रिक्सा, १०८ थान मोटरसाइकल, साइकल १४ थान बरामद गर्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको एसपी घिमिरेले बताए ।
हुण्डी कारोबारबाट १५ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकल र चोरीमा संलग्न २४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो ।
सोही अवधिमा कर्तव्य ज्यानको ९ वटा मुद्धा दर्ता भएको मध्ये ५ वटा फर्छौट भएको छ । गत आवको सोही अवधिमा ४ वटा कर्तब्य ज्यान सम्बन्धि मुुद्धा दर्ता भएकोमा २ वटा फर्छौट भएको थियो ।
त्यस्तै, जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट भएको छ । गत आवको सोही अवधिमा २१ वटा मुद्धा दर्ता भएको र १६ वटा फर्छौट भएको थियो ।
लागूऔषध तर्फ १५ मुद्दा दर्ता १४ फर्छ्यौट, गत आवको सोही अवधीमा ११ वटा मुद्धा दर्ता भएकोमा १० वटा फर्छौट भएको थियो । यसैगरी हात हतियार खर खजाना सम्बन्धि ६ वटा मुद्धा दर्ता भएकोमा ५ वटा फर्छौट भएको छ ।
चालू आवको ६ महिनामा चोरी सम्बन्धि ३८ मुद्धा दर्ता र सबै फर्छ्यौट गत आवको सोही अवधिमा ३५ वटा मुद्धा दर्ता तथा फर्छौट भएको थियो । मुद्रा सम्बन्धि ४ वटा मुद्धा दर्ता र सबै फर्छौट भएको छ ।
एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ६ महिनामा २ सय ६४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताए ।
राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करले अबैध रुपमा कटान गरी ल्याएको करिब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदी जन्य पदार्थ ढुवानीमा प्रयोग गरिएको २३ वटा सवारी साधन प्रहरीले नियन्त्रमा लिएको थियो । उक्त कारवाहीबाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरिएको थियो ।
उता, रौतहटस्थीत ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम विपरित चलेका सवारी साधनलाई गरेको कारवाहीबाट ६८ लाख २४ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।




