रौतहट । भन्सार छलीको सामानसँगै ११ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ । जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । भन्सार छलेर ल्याएको विभिन्न सामान प्रहरीले बरामद गरेको हो ।
पक्राउ पर्नेमा किर्ते मुद्दाका जमिला शेखिन, जमील अख्तर, शेख अजीज मियाँ दर्जी, ओली महमद, शेख हफिज रहेका छन् । त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषा देवी राम र वहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोद्वारा सूचनामा उल्लेख गरिएको छ ।
पक्राउ परेका सबै ११ जनालाई फैसला कार्वान्यनको लागि सोमबार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । उता जिल्ला सदरमुकाम गौर स्थित बसपार्कमा प्रहरीले विभिन्न सवारी चेकजाँचको क्रममा १ लाख ४ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
भारतीय बजारबाट अबैध रुपमा भित्र्याएको उक्त मूल्य बराबरको कपडा, कस्मेटिक लगायत किराना सामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।




