रौतहट । नक्कली पेस्तोल देखाई ठगी गरेको आरोपमा रौतहट प्रहरीले भारत मोतिहारी ग्राम पञ्चायत खरोही ४ का २० वर्षीय अब्दुल कलामलाई सोमबार बेलुकी पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका ४ मठियास्थित सीमाक्षेत्रमा हिँडडुल गर्ने व्यक्तिहरूलाई नक्कली पेस्तोल देखाएर डर त्रास फैलाउँदै पैसा माग्ने गरेको सूचना पाएपछि प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कलाममाथि नक्कली पेस्तोल प्रयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको छ । घटनासँग सम्बन्धित थप प्रमाण संकलन र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सीमा क्षेत्रमा यस्तो गतिविधिले स्थानीयवासीमा त्रास फैलिएको छ । प्रहरीले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न थप निगरानी बढाइएको बताएको छ। यो घटनाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिहरू बारे जनचेतना र सतर्कता आवश्यक रहेको देखाएको छ ।




