सर्लाही । सर्लाहीको बलरा नगरपालिका २ हथियौलस्थित सडकमा बिहीबार साँझ चार चक्के रथको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बिसुन रायकी छोरी सोहानी कुमारी राय गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्कालै भारतको मेजरगंजस्थित स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा उनको ज्यान गएको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
ठक्कर दिने बिआर ०६ पि २६६२ नम्बरको रथका चालक हाल फरार रहेको र प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ । यस घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ भने पीडित परिवारले दोषीलाई चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।




