धनुषा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ पर्वता टोलका २५ वर्षीय देवलाल ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । देवलालले २३ वर्षीया श्रीमती संगिता ठाकुरलाई गजबार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनास्थलमै संगिताको मृत्यु भएको खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटना गएराति भएको हो । घटनाको अनुसन्धान जारी रहेको र थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयहरूका अनुसार घटना घरेलु विवादसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । यस घटनाले स्थानीय क्षेत्रमा तनाव सिर्जना गरेको छ । प्रहरीको अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने जनाइएको छ ।




