रौतहट । पूर्वपश्चिम राजमार्गलाई रौतहट र सर्लाही जिल्लासँग जोड्ने वागमती नदीको पुलको एउटा स्पान भाँसिएपछि दुर्घटनाको जोखिम अत्यधिक बढेको छ । पुलको स्पान भाँसिएपछि स्थानीयवासीले सम्बन्धित निकायलाई तुरुन्त मर्मत गर्न ध्यानाकर्षण गराएका छन् ।
सर्लाहीबाट रौतहटतर्फ जाँदा पुलको सात नम्बरको स्पान करिब ८ सेन्टिमिटर भाँसिएको जनाइएको छ । सडक डिभिजन कार्यालय चन्द्रपुरका प्राविधिक अनुसार पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको छ, जसका कारण सवारी साधनका चालकहरूले उच्च सावधानी अपनाउनु पर्ने आवश्यकता रहेको छ ।
वागमती पुल पचास वर्षअघि नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत निर्माण गरिएको थियो, जसको भौतिक संरचना अहिले कमजोर हुँदै गएको बताइएको छ । समय समयमा मर्मत गरिएको भएपनि हालको अवस्था गम्भीर भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
सडक डिभिजन कार्यालयले पुलको जोखिम बारे काठमाडौंस्थित पुल महाशाखालाई पत्र मार्फत जानकारी गराइसकेको छ । साथै, रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पनि सवारी साधनको सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।




