धनुषा । धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न चोर बाटोहरू बन्द गरेको छ । रातको समयमा अवैध उत्खनन् बढेपछि प्रहरीले जेसीबी मेसिन प्रयोग गरेर नदीमा प्रयोग भएका विभिन्न चोर बाटोहरू बन्द गरेका हुन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार अवैध उत्खननमा प्रयोग भएका ट्याक्टर र मेसिन नियन्त्रणमा लिइएको छ र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।
इला प्रहरी कार्यालय भरतपुर र पोर्ताहाका प्रहरी नायब निरीक्षकहरूले गणेशमान चारनाथ नगरपालिकामा अवैध उत्खनन् रोक्न चोर बाटो बन्द गरेको जानकारी दिए । यसै क्रममा ट्याक्टर, टिप्पर र जेसीबी मेसिनले खोलामा लैजान प्रयोग गरिएको बाटोमा खाडल खनिएको छ ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जितनारायण यादवले अवैध उत्खननका कारण प्रहरीको सहयोगमा चोर बाटो बन्द गर्न कदम चालेको बताएका छन् ।
धनुषाको उत्तरी क्षेत्रका जलाद, औरही, बडहरी, रातु र कमला नदीबाट अवैध गिट्टी र बालु निकाल्न स्थानीय तह र प्रहरी प्रशासनका लागि ठूलो चुनौती बनेको छ । स्थानीयहरूले रातिको समयमा जेसीबी, टिप्पर र ट्याक्टर प्रयोग गरेर नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको बताएका छन् ।




