वीरगन्ज । राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी होटलमा देह ब्यापारमा लगाएको आरोपमा एक भारतीयसहित ४ जना वीरगन्जबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत विहार छपरा जिल्ला बस्ने ३५ वर्षका मनेजर राय, महोत्तरी भंगहा नगरपालिका २ टिकुलिया बस्ने ३२ वर्षकी सुक्राति चौधरी, ओखलढुंगा देयाले गाउँपालिका ५ बस्ने ३३ वर्षका दिपेश राई र बारा जितपुर सिमरा उपमहानगरपालिका १४ बस्ने ३८ वर्षकी मिरा कुमारी महतो रहेकी छन् ।
वीरगञ्ज महानगरपालिका १६ भन्सार नजिकै रहेको होटलमा ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्वस्तिका र होटल रितेशबाट दुई जना महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुबास भट्टले जानकारी दिए ।




