धनुषा । नेपाल प्रहरीको ‘डीएसपी’ भएको बताई ठगी गर्ने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २ का २० वर्षीय धनिकलाल साह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार साहले आफू नेपाल प्रहरीको डीएसपी भएको बताउँदै धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ का रमेश श्रेष्ठसँग नगद रु ५० हजार ठगेका थिए । श्रेष्ठले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।
प्रहरी निरीक्षक यादवले भने, ‘साहले आफू डीएसपी भएको भन्दै रु ५० हजार ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’ प्रहरीका अनुसार पक्राउ परेका साहमाथि ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।




