महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्रका किसानहरु अज्ञात रोगका कारण त्रस्त बनेका छन् । बर्दिवासका किसाननगर, कृष्णपुर लगायतका स्थानमा घरपालुवा जनावरहरू अचानक मर्न थालेपछि किसानहरूमा त्रास फैलिएको छ ।
स्थानीय गाेपाल कार्कीका अनुसार पछिल्लो पाँच दिनमा मात्र मनहरिपुरको राउत टोलमा दुई वटा भैँसी मरेका छन् । त्यस्तै, किसान पूर्णबहादुर पौडेल र सरस्वती कार्कीका दुहुनो भैँसी पनि एक्कासि मरेका छन् । यसअघि हनुमान चोकमा पनि अर्का किसानको भैँसी मृत फेला परेको थियो ।
अचानक मर्न थालेपछि किसान चिन्तित
भैँसीहरूमा कुनै पनि रोगको लक्षण देखिएको थिएन । किसान सरस्वती कार्कीले बेलुका दुध दोहेपछि गोठमा सारिएको भैँसी बिहान मृत अवस्थामा फेला परेको बताइन् । ‘‘एकै पटक लाख १५ हजारभन्दा बढी पर्ने भैँसी गुमाउनु पर्यो,’’ उनले दुखेसो गरिन् ।
नगरपालिकाले हालसम्म मृत्युको कारण बारे ठोस अनुसन्धान अघि बढाउन सकेको छैन । तर किसानहरूले कृषि शाखालाई यस विषयमा जानकारी गराइसकेको बताएका छन् ।
खानामा विषादीको आशंका
नगरपालिकाको पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खडकाले भैँसीहरू महामारीको कारण नभई खानामा विषादी भएका कारण मरेको हुन सक्ने आशंका गरेका छन् । ‘‘अहिलेसम्म महामारीको कुनै लक्षण देखिएको छैन । किसानहरूले जानकारी गराएपछि हामीले अनुसन्धान सुरु गरेका छौँ । प्रारम्भिक अनुमान अनुसार फुड पोइजनको कारणले यस्तो भएको हुन सक्छ,’’ उनले भने ।
वडा अध्यक्ष पदम आलेमगरले पनि भैँसीहरूको मृत्यु महामारीको कारण नभई अन्य कारणबाट हुन सक्ने बताएका छन् । बर्दिवासको वडा नं. ६ मा मात्रै १,५०० भन्दा बढी भैँसी किसानहरूको गोठमा रहेको अनुमान छ । स्थानीय किसानहरूले पशु स्वास्थ्य शाखाले चाँडो अनुसन्धान गरी आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन् ।




