रौतहट । न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेका छन् । कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई विभिन्न प्रभावमा परी सफाइ दिएको भन्दै जिल्ला न्यायाधीश मनोज केसीविरूद्ध कारबाही र न्यायको मागसहित सिंगै परिवार बुधबारदेखि धर्नामा बसेका हुन् ।
बुधबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बलपूर्वक धर्नास्थलबाट आफूहरूलाई उठाएको कारण आज बिहान १० बजेदेखि सपरिवार धर्नामा बसेको पीडित राजन गुप्ताले बताए । न्यायको माग गर्दै बुधबार दिउँसोदेखि धर्ना सुरू गर्दाको समयदेखि नै केही प्रहरीले विभिन्न बहानामा अनावश्यक दुःख दिइरहेको गुप्ताले गुनासो गरे ।
घटनामा मृत्यु भएका यमुनामाई गाउँपालिका ४ सरुअठा गाउँका स्व. राम विनोद गुप्ताकी आमा, बुवा, श्रीमती, भाइ-बहिनीहरू, भिनाजु, सम्धीसहित १८ जना अदालतको मुलगेटको छेउमा ब्यानर झुण्ड्याएर धर्नामा बसेका छन् । पसलमा उधारो सामान नदिएको रिसइबीको कारण २०७६ असार ४ गते राति १० बजे विनोद गुप्तालाई गाउँकै एक समूहले कुटपिट गरेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो । मृत्युलगत्तै उनका भाइ राजन गुप्ता र श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा १३ वर्षीय नाबालकसहित विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान अगाडि बढाएको थियो ।
रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई एक वर्षअघि प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो । अदालतलेमध्ये नाबालक १३ वर्षीयलाई तत्काल सुधारगृह वीरगन्ज र पछि अभिभावकको जिम्मा लगाएको थियो ।
अन्य, दुवै जना रामकिशोर सिंह र रामविनोद सिंह, लाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो । धरौटीमा छुटेर तारेखमा रहेका अभियुक्त दुवै जना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई गत २० गते आइतबार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा न्यायाधीश केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइको फैसला सुनाएको थियो ।
फैसलाको भोलिपल्ट गत २१ गते सोमबारदेखि जाहेरवाला राजन गुप्ता र मृतककी श्रीमती अनिता देवी सपरिवार आन्दोलित भएका छन् । हत्यामा संलग्न व्यक्तिलाई सफाइ दिएकोमा आफू मर्माहित भएको भन्दै न्याय न पाएसम्म आन्दोलन जारी रहने गुप्ता परिवारले अडान लिएका छन् । न्यायको लागि आफूहरू आन्दोलित हुँदा सरुअठा गाउँका सिंह थरका केही व्यक्ति आएर पटक-पटक धम्की दिइरहेको मृतकका भाइ राजन गुप्ताले बताए ।
‘न्यायको लागि सपरिवार धर्नामा बसिरहँदा पटक-पटक धम्की आउँदा आफूहरू असुरक्षित महसुस गरिरहेका छौं, आवश्यक सुरक्षा प्रहरीले दियोस्,’ उनले भने । उक्त घटनाका अन्य चार जना आरोपी भन्ने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




