रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट भन्सार छलीका सामानसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका २ का २२ वर्षीय धनदीप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका ६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नगरपालिका ६ का २० वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले राखेको चेकप्वाइन्टबाट १ लाख ३३ हजार ५८५ रुपैया बराबरको भन्सार छलेर ल्याएका स्पेयर पार्टस्, किराना सामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद सामानसहित बिआर ०५ इ ४४०२ नम्बरको मोटरसाइकलमा सवार चारै जनालाई आइतबार आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।




