सिराहा । सिराहा नगरपालिका ३ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति रमौलबाट मखनाहातर्फ जाँदै गरेको स ५ प २५१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शत्रुधन साहको मृत्यु भएको हो ।
सिराहा नगरपालिका ५ निवासी ४० वर्षीय शत्रुधन साह गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




