पर्सा । वीरगन्जका होटलमा महिलालाई बेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ का ४५ वर्षीय गिनिलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर ६ का ४० वर्षीय प्रकाश साह रहेका छन् ।
दुबै जनालाई वीरगन्ज महानगरपालिका १५ का दुई होटलबाट बिहीबार दिउँसो ३ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनीहरूले वीरगन्जका होटलहरूमा राम्रो आम्दानी हुने भन्दै प्रलोभनमा पारेर ग्राहकहरूसँग शारीरिक सम्पर्कमा संलग्न गराएको लम्सालले बताए ।
होटलहरूमा चेकजाँच गर्न पुगेको प्रहरी टोलीले होटल स्मार्टबाट दुई र न्यू शान्ति सैनिक होटलबाट दुई जना महिलालाई उद्धार गरेको छ । पक्राउ परेकालाई शुक्रबार प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।




