जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
भानुचौकबाट सुरु भएको जुलुस शिवचौक हुँदै जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले ‘मुख्यमन्त्री सतिश सिंह मुर्दावाद’, ‘प्रदेश सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनका सहभागी अक्षय यादवले आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा समेत मधेशमा कुनै ठोस विकास कार्य अघि नबढेको आरोप लगाए । प्रदेश सरकारले जम्मा १ प्रतिशत मात्र बजेट खर्च गरेको भन्दै उनले मुख्यमन्त्री सिंहविरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको बताए ।
यादवका अनुसार, मुख्यमन्त्री सिंहले विकास योजनाको कार्यान्वयन गर्नुको सट्टा निजी अस्पतालहरूको मात्र अनुगमनमा ध्यान दिएको आरोप छ । यसअघि पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर मसाल जुलुस प्रदर्शन गरिएको उनले बताए ।
विरोध प्रदर्शनमा दर्जनौँ युवाहरूको उपस्थिति रहेको र उनीहरूले प्रदेश सरकारलाई शीघ्र प्रभावकारी विकास योजना अघि बढाउन चेतावनी दिएको जनाइएको छ ।




