बारा । बारामा पन्ध्र दिनअगाडि पुगेका एक युवालाई सुधार केन्द्रभित्रै कुटपिट गरी हत्या गरिएको छ । प्रहरीका अनुसार कलैया उपमहानगरपालिका ९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको तीन दिनअघि कुटपिट गरी हत्या गरिएको हो ।
आफन्तका अनुसार कलैया उपमहानगरपालिका १ मा सञ्चालिन नवजन्म पुन स्थापना केन्द्रमा मण्डलले हत्या भएको हो । मण्डललाई सुधार केन्द्रका व्यक्ति तथा कर्मचारीहरूले मराणासन्न हुने गरी कुटपिट गरेका थिए ।
उनलाई कलैया सिटी अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया ३ का १९ वर्षीय सरफराज मन्सुर, कलैया ४ का २२ वर्षीय निरज सर्राफ, वडा नम्बर ६ का २० वर्षीय आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरुण सर्राफ, २ नम्बर वडाका २१ वर्षीय प्रमेश्वर साह, सोही ठाउँका १९ वर्षीय सागर गुप्ता र ३ नम्बर वडाका २९ वर्षीय तमन्ना अलि रहेका छन् ।
फागुन २ गते केन्द्रमै कुटपिट गरी हत्या हुँदा बारा प्रहरीले थाहा पाएको थिएन । बारामा नयाँ प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ भर्खरै गएका छन् । कार्य सम्पादनमा कमजोर रहेका तामाङ प्रधानमन्त्री केपी ओलीका पूर्वपिएसओ हुन् ।
सोही नाता भजाउँदै तामाङले आकर्षक पोस्टिङ हासिल गरेका थिए । बारा प्रहरीले संलग्नहरूलाई पक्राउ गरेपछि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको बताएको छ ।




