महोत्तरी । महोत्तरी जिल्लाको टुटेश्वर सवडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा नेपाल विद्युत् प्राधिकरणको ढल्केवर प्रसारण केन्द्रमा कार्यरत धनुषाको मिथिला बिहारी नगरपालिका ८ निवासी कुलदीप यादव र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका ९ निवासी चन्देश्वर यादव रहेका छन् । टुटेश्वर सवडिभिजन वन कार्यालयले सोमबार यस बारे जानकारी दिएको हो ।
हेटौँडा–ढल्केवर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका लागि वन कार्यालयको स्वीकृति बिना नै रुख कटान गरिरहेको अवस्थामा उनीहरूलाई आइतबार वन अधिकृत राकेश विश्वकर्माको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
वन अधिकृत विश्वकर्माका अनुसार प्राधिकरणका कर्मचारी यादवलाई वन अधिकृतसहितको टोलीले संरक्षित प्रजातिका ६९ वटा साखु, असना र कर्मा प्रजातिका रुख कटान गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
टुटेश्वर सवडिभिजन वन कार्यालयका अनुसार दुवै जनालाई वन मुद्दाअन्तर्गत महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।




