बारा । महागढीमाई नगरपालिका २ इनर्वामा बुधबार बेलुकी भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीआर ०१ एफके ९६४० नम्बरको मोटरसाइकल र ना ७ ख २९६६ नम्बरको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि रौतहट, बृन्दावन नगरपालिका १ बिश्रामपुर टोल निवासी २० वर्षीय सैनिक पटेलको ज्यान गएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो ।
त्यस्तै, मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । उनीहरूको हाल वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । यस घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ ।




