बारा । बाराको पथलैया चोकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागूऔषध अफिमसहित १ जनालाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ ५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट असई अमृत मैनालीको कमाण्डमा गएको टोलीले पथलैया चोकमा वीरगंज तर्फ गइरहेको प्र ०३-०३-००१ प ५२७३ नम्बरको एफजेड मोटरसाइकल चेकजाँच गर्दा चालकले बोकेको झोलामा लुकाई झिपाई राखेको अढाई किलो लागूऔषध अफिम बरामद गरेको हो ।
लागूऔषध अफिमसहित मोटरसाइकल र चालक धादिङ जिल्ला गजुरी नगरपालिका ४ बस्ने वर्ष २६ का राजन चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।
उता ईलाका प्रहरी कार्यालय सिमराबाट असई प्रदिप पाण्डेको कमाण्डमा गएको टोलीले सिमरा सुर्य नेपाल स्थित काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४३५१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा भन्सारको प्रज्ञापन पत्र नरहेको ४८ लाख ६ हजार ९ सय ५२ रूपैया बराबरको सामान बोकेका ट्रक शनिबार नियन्त्रणमा लिएको थियो ।
एरियल टाईड र उईस्वर एरियल समानसहित नियन्त्रणमा लिइएको ट्रक तस्करीको आशंकामा आवश्यक कारवाहीको लागी आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ ।




