रौतहट । रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउण्ड सेवा प्रदान सुरू गरिएको छ । पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको वडामै पुगेर गर्भवती महिलाहरूको नि:शुल्क अल्ट्रासाउण्डसहित स्वास्थ्य परीक्षण सुरू गरेको हो ।
‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरू गरिएको पालिका प्रमुख सिंहले बताए । यस कार्यक्रमले घरमै बसेर गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच सुरू भएको र अब प्रादेशिक अस्पताल गौरसम्म वा त्यसैको लागि बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ रहेको छ ।
यसले पालिकाभित्रका गर्भवती महिलाका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको पालिका स्वास्थ्य संयोजक दिनेश महतोले बताए । वडा नम्बर ५ बागमती पारीको गाउँ बडहर्वाबाट शनिबारदेखि सुरू भएको कार्यक्रममा आइतबारसम्म ४५ जना गर्भवती महिलाहरुले सेवा लिएको पालिकाले जनाएको छ ।




