सप्तरी । हराएको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका ५ बस्ने २० वर्षीय अरूणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव रहेका छन् ।
उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । खतिवडाका अनुसार गत असार महिनामा एक जनाले नागरिकता हराएका थिए । त्यो नागरिकता अरूणकुमारले फेला पारेका थिए ।
‘नागरिकतामा भएको फोटो उप्काएर आफ्नो फोटो टाँसेर बैंक खाता खोलेको पाइएको छ,’ खतिवडाले भने । अभिषेकले अरूणकुमारलाई त्यस कार्यमा सहयोग गरेको खुलेको खतिवडाले बताए ।
नागरिकतामा आफ्नो फोटो टाँसेपछि अरूणकुमार विराटनगर पुगेका थिए । उनले विराटनगरमा रहेको सिटिजन्स बैंक पुगेर पीडितको नाममा खाता खोले । ‘खाता खोलेपछि उनले अन्य विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको भनी उजुरी आएको छ,’ खतिवडाले भने ।
दुबै जनाले कति रकम ठगी गरे भन्ने बारे बैंकसँग विवरण मागिएको छ । ‘पहिले नागरिकता दुरुपयोग तथा किर्तेमा अनुसन्धान थालिएको छ,’ खतिवडाले भने, ‘बैंकबाट रकमको विवरण आएपछि ठगीमा थप कारबाही हुन्छ ।’ दुबै जनालाई जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ ।




