सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास रहेका छन् ।
पीडित परिवारले दिएको जाहेरीमा रुपेश, नथुनी, रामकृपाल र विन्देश्वरको नाम किटान गरिएको थियो भने अन्य चार जना पञ्चायतमा संलग्न रही पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
चन्देश्वर, रामविनोद र कमलेशलाई फागुन ११ गते नै प्रहरीले पक्राउ गरेको थियो । बलात्कारका मुख्य अभियुक्त रुपेश मण्डललाई माघ २१ मा पक्राउ गरिएको थियो भने अन्य चार जनालाई हिजो शुक्रबार लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
यस घटनामा संलग्न थप ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य जारी रहेको र चाँडै पक्राउ गरिने प्रहरीले जनाएको छ ।




