रौतहट । रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीव्र रूपमा अवैध उत्खनन भइरहेको छ । फतुवा विजयपुरको भैंसहीभन्दा उत्तर, गुजराको जंगलसहिया, पशुपति टोल, सिमरी र कटहरियाको ढोलबाजा घाट क्षेत्रमा व्यापारी तथा तस्करहरूले निरन्तर रूपमा नदी उत्खनन गरिरहेको पाइएको छ ।
तीन वटै नगरपालिकाले लालबकैया नदीको ठेक्का (टेण्डर) नगरेपनि स्थानीय प्रहरी र वन कर्मचारीलाई पैसा दिएर बिहानैदेखि दर्जनौं ट्याक्टरमा बिना रोकटोक नदीजन्य पदार्थ जस्तै गिट्टी, बालुवा र मिक्स ग्राभेल ढुवानी भइरहेको स्थानीय स्रोतहरूले बताएका छन् ।
बिना अनुमति नदी उत्खनन
भैंसही बुटवास्थित स्थानीय राजु लामा नामका व्यक्तिले ८/१० जना मजदुर राखेर बेल्चाको प्रयोग गरी बिहानैदेखि नदी उत्खनन गर्दै आएका छन् । उनले चार वटा ट्याक्टर प्रयोग गरी दैनिक २० टिप भन्दा बढी मिक्स ग्राभेल ढुवानी गर्ने गरेको प्रत्यक्षदर्शी रुपेश यादव बताउँछन् ।
लामासँगै अन्य व्यापारी तथा तस्करहरूले पनि फतुवा विजयपुर नगरपालिका अन्तर्गत लालबकैया नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको यादवले जानकारी दिए ।
गुजरा र कटहरियामा पनि उत्खनन तीव्र
यसैगरी, गुजरा–कटहरिया सिमानामा पर्ने लालबकैया नदीको ढोलबाजा, जंगलसहिया, पशुपति टोल, सिमरी घाट क्षेत्रमा बिहानैदेखि दर्जनौं मजदुर लगाएर मिक्स ग्राभेल उत्खनन गरी ट्याक्टरमा दिनभर ढुवानी गरिन्छ । पछिल्ला कैयौं महिनादेखि यो क्रम जारी रहेको भएपनि कुनै निकायले रोकथाम नगरेको स्थानीयहरूको गुनासो छ ।
साना उपभोक्तालाई अवरोध, ठूला तस्करलाई छुट
स्थानीय प्रहरी व्यक्तिगत प्रयोजनका लागि बालुवा ल्याउने उपभोक्तालाई अवरोध पुर्याउने तर ठूला व्यापारीलाई निर्वाध रूपमा नदी उत्खनन गर्न दिनेको आरोप लगाएका छन् ।
स्थानीय समाजसेवी राजकुमार महतो भन्छन्, “हामीले घर निर्माणका लागि नदीबाट एक ट्याक्टर बालुवा ल्याउँदा प्रहरी अनेक बाधा अड्चन लगाउँछ । तर, तस्करहरू दिनभरि नदीजन्य पदार्थ ढुवानी गर्दा प्रहरी मुकदर्शक बनेर बस्छ ।”
अवैध उत्खननका कारण दुर्घटनाको जोखिम
समाजसेवी महतोका अनुसार, “दिनभरि अबैध उत्खनन गरेर व्यापारीहरूले जंगलसहिया, पोखरभिन्डा, भसेढावा गाउँस्थित बाटोमै थुपारेर राख्छन् । माग अनुसार पछि बेच्ने गर्छन् ।” यसरी जथाभावी बाटोछेउ नदीजन्य पदार्थ राख्नाले दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले गुनासो गरेका छन् ।
प्रहरी, वन कर्मचारी र जनप्रतिनिधिहरूको मिलेमतो
अवैध उत्खनन गर्ने समूहले स्थानीय प्रहरी, वन कर्मचारी र केही जनप्रतिनिधिहरूसँग मिलेमतो गरेको स्थानीय रुपेश यादव बताउँछन् । अवैध उत्खननका कारण नेपाल सरकारले संकलन गर्नुपर्ने लाखौं रुपैयाँ राजस्व गुमिरहेको छ, भने ढोलबाजा घाटमा करोडौंको लागतमा निर्माण गरिएको लालबकैया नदीको पुलसमेत भासिने जोखिम बढेको छ ।
नेपाल सरकारको नियम अनुसार, कुनै पनि भौतिक पूर्वाधारको ५०० मिटर टाढा मात्र उत्खनन गर्न पाइन्छ । तर, रौतहटमा तस्करहरूले पुलछेउमै उत्खनन गरिरहेका छन् ।
नियमनकारी निकाय मौन
नदीको अवैध उत्खनन नियन्त्रण तथा नियमन गर्ने जिम्मेवारी जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र स्थानीय निकायको हो । तर, रौतहटमा यी निकायहरू हालसम्म मौन बसेका छन्, भनी स्थानीय सञ्चारकर्मी कृष्ण तिवारी गुनासो गर्छन् ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारी भन्छन्,
“अवैध उत्खननबारे आफूलाई कुनै जानकारी छैन ।” त्यस्तै, जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादव भन्छन्, “मलाई पनि थाहा छैन, तर अब नियमन गर्ने प्रतिबद्धता जनाउँछु ।”
सरकारको ध्यान जान आवश्यक
रौतहटको लालबकैया नदीमा भइरहेको अवैध उत्खननले सरकारी राजस्व गुमाउने, पुल र अन्य भौतिक संरचनाहरू जोखिममा पार्ने, तथा वातावरणीय क्षति पुर्याउने खतरा बढाएको छ । स्थानीय प्रशासन, प्रहरी, वन कार्यालय, तथा जनप्रतिनिधिहरूले छिटो भन्दा छिटो यसलाई नियन्त्रण गर्न पहल गर्नुपर्ने स्थानीयहरूको माग छ ।




