सप्तरी । सप्तरी जिल्लामा दुई फरक स्थानमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पहिलो दुर्घटना सप्तरी जिल्लाको राजविराज नगरपालिका १ पडरियास्थित सडकमा भएको हो ।
महुलीबाट राजविराजतर्फ आउँदै गरेको को १ ज २८६४ नम्बरको गाडी अनियन्त्रित भई सोमबार राति दुर्घटनामा पर्यो । दुर्घटनामा गम्भीर घाइते भएका रूपनी गाउँपालिका १ निवासी ३५ वर्षीय चालक रघु यादवको उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोस्रो दुर्घटना राजविराज नगरपालिका ११ झल्ही नहरस्थित सडकमा भएको हो । राजविराजबाट सियोंनतर्फ जाँदै गरेको मधेश प्रदेश ०६-००१ प २६२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका राजविराज नगरपालिका १२ निवासी २२ वर्षीय चालक घनश्याम यादवको थप उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । प्रहरीले दुबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




