जनकपुरधाम । मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाका अनुसार यादवको उपचारको क्रममा गएराति करिब १२ बजे निधन भएको हो ।
आइतबार राति करिब ११ बजे अचानक पेट र छातीको बीचमा असह्य पीडा भएपछि उनलाई तत्काल जनकपुरधामस्थित एक स्थानीय अस्पतालमा प्राथमिक उपचार गरियो । त्यसपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
सिरहाको सिरहा नगरपालिका २५, सुखचैना घर भएका यादवको प्रहरी चौकी कल्याणपुर चितवनमा दरबन्दी भई मधेश प्रदेश प्रहरी गण, जनकपुरधाममा कार्यरत्त रहेका थिए ।




