सर्लाही । सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । भारतबाट तीन वटा मोटरसाइकलमा नेपाल प्रवेश गर्न लागेका उनीहरूको साथबाट प्रहरीले १ लाख ७६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो ।
सर्लाही प्रहरी प्रवक्ता सरोज राईका अनुसार पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका ७ का सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका ९ का रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका ७ का दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका २ का रामपृत सहनी र सोही गाउँपालिकाकी सिहानता कुमारी देवी रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट बा ४७ प ८७५७ नेपाली नम्बरको एउटा मोटरसाइकलसहित बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरका भारतीय मोटरसाइकल पनि बरामद गरेको छ । प्रहरीले मलंगवा नगरपालिका ८ स्थित गोरखकाली सडकखण्डमा चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरी ल्याउँदै गरेको १ हजार दरका १७६ थान नक्कली नोट फेला पारेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले नक्कली नोट लुकाउन नोट साइजको सेतो बन्डल बनाइ बीचमा सादा सेतो कागज राखी, माथि र तल मात्र १ हजार दरका नक्कली नोट राखेका थिए । यसरी ८८ वटा बन्डल लिएर नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यससँगै प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल पनि बरामद गरेको छ । पक्राउ परेका पाँच जनाविरुद्ध मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।




