सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार उनीहरूलाई चैत २५ गते नै नियन्त्रणमा लिइएको थियो । सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
प्रहरीका अनुसार बलात्कारपछि घटनालाई पञ्चायती मार्फत मिलाउन खोज्ने प्रयासमा उनीहरूको संलग्नता देखिएको छ । योसँगै घटनामा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साह, स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास पक्राउ परिसकेका छन् ।
पक्राउ परेका मध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा उल्लेख नगरिएका भए पनि पञ्चायतीमा संलग्न रहेको खुलेको छ ।
माघ २७ गते राति शौच गर्न घरबाट निस्किएकी रिंकुलाई तीन जना स्थानीय युवकले सामूहिक बलात्कार गरेका थिए । भोलिपल्ट बिहान घर फर्किएर रोएकी उनले घटना बारे परिवारलाई जानकारी गराएकी थिइन् । तर, माघ २९ र ३० गते गाउँमै पञ्चायती बसेर घटना मिलाउने प्रयास भएको थियो ।
पञ्चायतीले बलात्कारका आरोपितलाई १ लाख ४० हजार रुपैयाँ जरिवाना तिराउने र पीडितलाई प्रहरीमा उजुरी दिन नदिने निर्णय गरेको थियो । तर, पञ्चायती असफल भएपछि पीडक पक्षको धम्कीका कारण माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटनापछि पीडित परिवारले न्यायको माग गर्दै स्थानीय प्रशासनसँग दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन् । प्रहरीले घटनामा संलग्न सबैलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।




