रौतहट । रौतहटको उत्तरी भेगका जंगलमा दुई महिनादेखि घाइते अवस्थामा देखिएको जंगली हात्ती ‘यमगज’ उचित उपचारको अभावमा जीवन मरणको दोसाँधमा पुगेको छ ।
चन्द्रपुर नगरपालिका २ र ३ को जंगल क्षेत्रमा देखा परेको यो हात्ती पूर्वी पर्सा राष्ट्रिय निकुञ्जबाट भट्किँदै आदर्श सामुदायिक वनको नर्सरी क्षेत्रमा पुगेको बताइन्छ । अगाडिको दाहिने खुट्टा सुन्निएको र हिँड्न कठिन भएको कारणले ‘यमगज’ दिन प्रतिदिन कमजोर हुँदै गएको छ ।
आफैं चरन गर्न नसक्दा उसको अवस्था झन् गम्भीर बन्दै गएको छ । पीडाले छट्पटाइरहेको ‘यमगज’का भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
हात्ती हेर्न आउने भीड बढेसँगै मानिसहरूले हरियो मकै र केरा खुवाउने गरेका छन् । तर, शिकारीहरूको उपस्थिति रहेको यस क्षेत्रमा हात्तीको जीवन थप जोखिममा रहेको स्थानीयहरू बताउँछन् ।




