रौतहट । रौतहट प्रहरीले नेपाल-भारत सिमानाबाट अवैध रूपमा तस्करी गरिएका एक लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले ईशनाथ नगरपालिका ७ जयनगर क्षेत्रमा छापा मारेको थियो ।
सो क्रममा भारततर्फ चोरी निकासी गरिँदै गरेका रु १८,२०० मूल्य बराबरका अवैध सामानहरू फेला परेका छन् । अवैध सामानहरुका साथै दुई वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।
कुल रु. १ लाख १८ हजार २ सय मूल्य बराबरका उक्त सामाग्रीसहित थप अनुसन्धानको लागि ईशनाथ ९ का स्थायी बासिन्दा १९ वर्षीय दिनेश यादवलाई पक्राउ गरिएको छ ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयलाई बुझाइएको छ । साथै प्रहरीले सिमावर्ती क्षेत्रमा अवैध तस्करी रोक्न थप निगरानी राख्ने प्रतिबद्धता जनाएको छ ।




