रौतहट । होली पर्वको अवसरमा धार्मिक सद्भाव बिगार्न खोज्ने तीन जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहानैदेखि जिल्लाका १६ नगरपालिका र दुई गाउँपालिकामा होलीको उल्लासमय माहोल थियो । तर, केही स्थानमा दुई समुदायबीच विवाद उत्पन्न भएको थियो ।
प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना हुन नदिई शान्तिपूर्ण रूपमा होली सम्पन्न भएको छ । गौर नगरपालिका अन्तर्गत सबगढा गाउँमा डिजे बजाएर विवाद सिर्जना गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै, डिजे सवार गाडीलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । त्यस्तै, हिन्दु मुस्लिम समुदाय बीच धार्मिक सद्भाव विथोल्न खोज्ने तीन जनालाई समेत पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
यसैबीच, होली खेल्ने क्रममा रौतहटमा ६ वटा सवारी दुर्घटना भएका छन्, जसमा ७ जना घाइते भएका छन् । तीमध्ये एक जनालाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । यातायात सुरक्षाका लागि प्रहरीले विशेष निगरानी अपनाएको थियो ।
ट्राफिक नियम उल्लंघन गर्दै सवारी चलाउने १४ वटा मोटरसाइकल र दुई वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले नागरिकहरूलाई होली पर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।




